नाग पंचमी - Friday, August 9, 2024

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

श्रीनाग - पन्चमी (२०८१ )को पावन उपलक्ष्यमा सबैमा मङ्गलमय शुभकामना । 

यो वर्ष अमेरिका टेक्सस को समयानुसार August 9, Friday श्री नाग पंचमी परेको छ I 

नो लङ्घनीयाः कुलदेशधर्मा: ।।

श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग - पन्चमी भनिन्छ । यस दिन नेपाल तथा भारतका सबै हिन्दुघर्मावलम्बीहरुले विशेष आदरका साथ विधिपूर्वक वैदिक, पौराणिक तथा प्राकृतिक मन्त्रहरूद्वारा भगवान् नागको पूजा गर्ने परम्परा छ । नागलाई शिवको गहना, विष्णुको शय्या, देवीको हतियार , गणेशको जनै को रूपमा पनि पूजा गरिन्छ । योगसूत्रका प्रवर्तक , पाणिनीय सूत्र ( संस्कृत व्याकरण ) का भाष्यकार तथा वैद्याशास्त्र चरकका प्रणेता महर्षि पतन्जलिलाई शेषनागको अवतारको रूपमा मानिन्छ ।

योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वैद्यकेन । योऽपाकरोत्तं प्रवरं मुनीनां पतन्जलिं प्राञ्जलिरानतोऽस्मि ।।

…. संस्कृत शब्दकोश . पृ ७०६ शास्त्रमा नाग पूजा वारे यस्तो वताइएको छ :--- श्रावणे मासि पन्चम्यां शुक्लपक्षे नराधिप । द्वारस्योभयतो लेख्या गोमयेन विषोल्बणा ।।१ ।। पूजयेद्विधिवद्वीर दधिदूर्वाङ्कुरै: कुशै: । गन्धपुष्पोपहारैश्च ब्राह्मणानां च तर्पणै: ।।२ ।। ये यस्यां पूजयन्तीह नागान् भक्तिपुर:सरा: । न तेषां सर्पतो वीर भयं भवति कुत्रचित् ।।३ ।।---- हेमाद्रौ, भविष्ये । अर्थात् , हे राजन् !

अर्थात् श्रावण शुक्लपक्षको पन्चमी तिथिमा मूल ढोकाको दुवै तिर गोवरले विषालु सर्पको आकृति लेख्नु (बनाउनु ) र दही ,दूवो ,कुश , फूलहरूले पूजा गर्नु र ब्राह्मणहरूलाई यथा शक्ति दक्षिणा दिनुपर्छ । यसरी जसले यस तिथिमा भक्तिले नागको पूजा गर्दछन् उनीहरूलाई कहिले पनि नागको भय हुँदैन । हाम्रो यस पृथिवीमा प्रकृतिबाट जीवात्मा ( प्राणी ) हरूमा सृष्टिसन्तुलन मिलाउनको निमित्त अनेकौं प्रकारका नाग , सर्प , बिच्छी जस्ता जीव-जन्तुहरू सृष्टि भएका हुन्छन् । यिनीहरुले नै वायुमण्डलीय वातावरणलाई समानुपातिक रूपमा स्वच्छ बनाएका हुन्छन् । पौराणिक कथा अनुसार देवता र दानवहरू मिलेर समुद्र मथन गर्दा निस्केको कालकूट ( हलाहल ) विषले संसारलाई दग्ध गर्न लाग्दा आशुतोष भगवान् शंकरले सम्पूर्ण प्राणीहरूको रक्षा गर्नको निमित्त त्यो विष अन्जुलीमा राखेर पान गर्नु भयो। त्यस बखत भगवान् शंकरका अन्जुलीबाट झरेका विषका थोपाहरू नाग, सर्प, बिच्छी आदि विषालु प्राणीहरूले पान गरेर ती जीवहरू विषालु भए ।

चिकित्सा- शास्त्रअनुसार नाग (सर्प) को विषबाट पनि विष शमन गर्ने औषधीहरू बनाइन्छ। भनाइ पनि छ :-- " विषस्य विषमौषधम् "अर्थात् विष नै विषको औषधी हुन्छ। यही प्राकृतिक तथ्यलाई बुझेर वैदिककाल देखि नै हाम्रा प्राचीन महर्षिहरूले नागलाई देवताको रूपमा पूजा गर्ने परम्परा चलाउनु भएको हो ।

नागको पौराणिक प्रार्थना यस प्रकार छ :-

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च। सुमन्तुर्जैमिनिश्चैव पन्चैते वज्रवारका : ।। १ ।।

मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नेर्भयं नास्ति लिखिते च गृहोदारे ।।२ ।।

यत्राऽहिशायी भगवान् यत्रास्ते हरिरीश्वर : । भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।३ ।।

अनन्तो वासुकि: पद्मो महापद्मश्च तक्षक: । कुलीर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।।४ ।।

आफ्नो परम्पराअनुसार नागको चित्र (तस्वीर वा मूर्ति ) बनाई विधि पूर्वक पूजा गरी घरको मूल ढोकाको माथि , दायाँ वा वायाँ टाँस्यो भने घरको रक्षा हुन्छ एवं घरमा चट्याङ्ग पर्ने डर हुँदैन र सर्पको भय पनि हुँदैन भनिएको छ।

नागको वैदिक प्रार्थना यस्तो छ : -

नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ।

ये अन्तरिक्षे ये दिवि तेभ्य: सर्पेभ्यो नम:।। -- यजु ० १३ ।६

यसै दिन नागमाता मनासदेवीको पनि पूजा गरी प्रार्थना गर्ने पनि चलन छ ।

 आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि। एह्येहि मनसादेवि नागमातर्नमोऽस्तु ते ।।