रक्षा बंधन तथा जनै पूर्णिमाको हार्दिक शुभ कामना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

ऋषितर्पणि तथा रक्षासूत्रपूजा ( जनै पूर्णिमा )

ऋषितर्पणि तथा रक्षासूत्रपूजा ( जनै पूर्णिमा ( २०८१ )को उपलक्ष्यमा सबैमा मङ्गलमय शुभकामना ।।

यो वर्ष अमेरिका र नेपालमा एकै दिन August 19, Monday जनै पूर्णिमा परेको छ !

श्रावण महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा भनिन्छ। यस दिन तागाधारीहरूले जनै रक्षासूत्र अभिमन्त्रण गरी लगाउने चलन छ । भविष्य पुराणमा यस दिन गर्नुपर्ने कर्म यस प्रकार वताइएको छ।

सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये।

स्नानं कुर्वीत मतिमान् श्रुति-स्मृतिविधानत: ।।

उपाकर्मणि कर्तव्यमृषीणां चैव पूजनम् ।

ततोऽपराह्नसमये रक्षा-पोटलिकां शुभाम्

कारयेदक्षतै: शस्तै: सिद्धार्थैर्हेमभूषितै: ।।

अर्थात् श्रावण महिनाको अन्तिम पूर्णिमाको दिनमा सूर्योदय पछि श्रुति-स्मृतिविधान अनुसार बुद्धिमान्-ले स्नान गरोस् र उपाकर्ममा ऋषिहरुको पनि पूजा तथा तर्पण गरोस्। सुनौला रङ्गको रक्षासूत्रलाई सर्सिउँ आदि शुभ वस्तुले पोटलिका बनाई वैदिक विधिपूर्वक अभिमन्त्रण गरेर धारण गरोस्।

भविष्योत्तर पुराणमा पनि रक्षासूत्रको महिमा उल्लेख छ।

सर्वरोगप्रशमनं सर्वाशुभविनाशनम्।

सकृत्कृतेनाब्दमेकं येन रक्षाव्रतो भवेत् ।।

अर्थात् श्रावण शुक्ल पूर्णिमाको दिनमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको रक्षासूत्र एक पटक धारण गर्नाले वर्ष दिन सम्म सबै रोगहरू तथा अशुभलक्षणहरू नाश हुन्छन् ।

निर्णयसिन्धुमा सबैले रक्षासूत्र धारण गर्नु पर्ने भनिएको छ।

ब्राह्मणै: क्षत्रियैर्वैश्यै: शूद्रैरन्यैश्च मानवै: ।

कर्तव्यो रक्षिताचारो द्विजान् सम्पूज्य शक्तित: ।।

अर्थात् ब्राह्मण, क्षत्रिय, र्वैश्य, शूद्र तथा सबै मानव जातिले रक्षासूत्र धारण गरेर

यथाशक्ति ब्राह्मणको सत्कार गरुन्।

जनै लगाउने मन्त्र :-

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् ।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज: ।।

ॐ यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनो -पनह्यामि ।।

रक्षासूत्र धारण गर्ने ( बाँध्ने ) मन्त्र :-

ॐ येन बद्धो बली राजा दानवेन्द्रो महाबल: ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

भावार्थ :-- वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको जुन रक्षासूत्र इन्द्रको आसन प्राप्त गरेका दानवराज बलिलाई सुरक्षा गर्नको लागि भगवान्-ले प्रयोग गर्नुभयो (बाँध्नु भयो )।त्यसैले उनी चिरन्जीवी भई सुरक्षित भए । त्यसै गरी विधिपूर्वक अभिमन्त्रण गरिएको यो रक्षासूत्रले तपाईं यजमानलाई सदा सुरक्षा होस् भनी प्रयोग गर्छु ( बाँध्छु ) । हे रक्षे ! यी यजमानलाई सदा सुरक्षा गर , आफू कतै न चल न चल ।

रक्षासूत्र (राखी ) को चलन :-

श्रावण शुक्ल पूर्णिमाको दिनमा दिदी- बहिनीहरूले दाजु -भाइहरूलाई आपसी प्रेम सम्बन्ध अझ दृढ होस् भनी रक्षासूत्र (राखी ) बाँध्ने चलन चलेको छ।

क्वाँटी (क्वाँथ) खाने चलन:-

यो चलन नेपालमा कहिलेदेखि चल्यो भन्ने यकिन छैन। तथापि तन्त्रविद् धन शम्सेरले श्रावण शुक्ल पूर्णिमाको दिनमा चना , भटमास ,बोडी आदि द्विदललाई पानीमा भिजाई अङ्कुर सहित पकाएर क्वाँटी (क्वाँथ) खानाले पेटको रोग निको भई परकृत्या नाश हुन्छ र ग्रहदशा शान्ति भई पुष्टि मिल्छ भन्ने कुरा बौद्धतन्त्र -शास्त्रमा उल्लेख गरिएको छ भनेका छन् ।